मकवानपुर – आन्तरिक राजश्व कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्य भन्दा १२ करोड ८७ लाख ७५ हजार रुपैयाँ बढी राजश्व संकलन गर्न सफल भएको प्रमुख कर अधिकृत शालिकराम आचार्यले जानकारी दिनुभयो ।
आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७७/०७८ को लागि ५ अर्ब ३९ करोड ९४ लाख ७३ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिएकोमा ५ अर्ब ५२ करोड ८२ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गर्न सफल भएको आचार्यले बताउनुभयो । कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा आयकरतर्फ ९५ करोड ९१ लाख ३८ हजार रुपैयाँ उठाउने लक्ष्य राखेकोमा १ अर्ब ९ करोड ५२ लाख ८३ हजार रुपैयाँ अर्थात् ११४ प्रतिशत राजश्व संकलन गरेको छ । यस्तै बहाल कर तर्फ ३ करोड १९ लाख ६३ हजार रुपैयाँ उठाउने लक्ष्य राखेकोमा २ करोड ६१ लाख १८ हजार , ब्याज करमा ४ करोड ७ हजार रुपैयाँ लक्ष्य राखेकोमा ४ करोड ५५ लाख ८ हजार, मूल्य अभिवृद्धि करमा ९१ करोड ५४ लाख ७९ हजार लक्ष्य राखेकोमा १ अर्ब ३२ करोड ३० लाख ७५ हजार रुपैयाँ संकलन गरेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी अन्तःशुल्क तर्फ ३ अर्ब १४ करोड ५४ लाख ६९ हजार लक्ष्य राखेकोमा २ अर्ब ८६ करोड ९० लाख २१ हजार रुपैयाँ मात्र संकलन गर्न सफल भएको आचार्यले बताउनुभयो । कार्यालयले गत वर्षको तुलनामा यस वर्ष १ सय १५ प्रतिशत बढी राजस्व संकलन गरेको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७६/७७ मा कार्यालयले ४ अर्ब ७८ करोड ७३ लाख ४० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । कोरोना प्रभावले सबै क्षेत्र अस्तव्यस्त हुँदा पनि लक्ष्य भन्दा बढी राजश्व संकलन हुनुलाई सन्तोषजनक मान्न सकिने आचार्यले बताउनुभयो ।