sdr

हेटौंडा-३ नम्बर प्रदेशको प्रदेश सभा बैठक आज बस्दै छ । असार १२ गते चालु आर्थिक वर्ष ०७६÷७७ को वार्षिक बजेट पारित गरेर स्थगित प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्न लागेको सभामुख सानु कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
प्रदेशसभामा मुख्य एजेन्डाका रूपमा रहेको स्थायी राजधानी र नामकरणबाहेक दुईवटा मात्र नयाँ विधेयक दर्ता भएका छन । यसअघि विभिन्न समितिमा रहेका पाँचवटा विधेयक समितिहरूले विभिन्न चरणमा छलफल गरेर टुंग्याइसकेका छन् । ती बिधेयकहरु प्रदेश सभामा पेश गर्ने कार्ययोजना तय गरिएको प्रदेश सभा सचिवालयका सचिव राम शरण घिमिरले जानकारीदिनुभयो ।
प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण समितिले छलफल सकेको समितिकी सभापति रमा आलेले बताउनुभएको छ ।
त्यस्तै मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक शिक्षा स्वास्थ्य र कृषि समितिमा र प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश मामिला समितिले विभिन्न चरणको छलफलपश्चात् अन्तिम रूप दिइसकेको छ । प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक, निजी, सहकारी साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा भर्खरै मात्र दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ । उक्त विधेयक सम्बन्धित मन्त्रालयले प्रदेशसभा पेस गरेपछि मात्र समितिमा पठाइने र समितिले छलफल अगाडि बढाउनेछ । प्रदेशसभामा हालसम्म ४३ वटा विधेयक दर्ता भएका छन, जसमध्ये ३६ वटा पारित भएका र ३५ वटा प्रमाणीकरण भइसकेको सभामुख श्रेष्ठले बताउनुभयो ।