नेपालमा कोरोना भाईरसको संक्रमण  मुक्त भएर हाल सम्म ५ सय ८४ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थप ९६ जना कोरोना मुक्त भई डिस्चार्ज भएसंगै हालसम्म ५ सय ८४ जना कोरोना मुक्त भई घर फर्किएकाे जानकारी दिनुभयाे । मन्त्रालयका अनुसार आज थप ८ जना महिला र ८८ जना पुरुष कोरोना मुक्त भएका हुन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज कोरोना विशेष अस्पताल जनकपुरबाट धनुषाका ३० जना, युनिफाईट कोभिड १९ अस्पताल बलम्बुबाट काठमाडौका १ जना, कोहलपुर अस्पतालबाट बाँकेका २२ जना, राप्ती अस्पतालबाट बाँकेका ७ जना, विपिकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका २८ जना, कोरोना विशेष अस्पताल दाङबाट बर्दियाका ४ जना र जिल्ला अस्पताल दैलेखबाट दैलेखका १ जना संक्रमण मुक्त भई घर फर्किएका छन् । प्रवक्ता डा गौतमले दिनुभएको जानकारी अनुसार आज इलाम जिल्ला थप भएसंगै नेपालमा हाल सम्म ७२ जिल्लाका ३ हजार ७ सय ९८ जना पुरुष र २ सय ७७ जना महिलामा संक्रमण पुष्टि भएको छ ।