काठमाडौँ– प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुक्रवारदेखि काठमाडौँमा शुरु हुँदै छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमले प्रतिस्पर्धा गर्ने छन् ।
कोरोना महामारीका कारण ठप्प बनेको नेपाली खेलकुद क्रमशः फर्ममा आएको रुपमा यो प्रतियोगितालाई हेरिएको छ । प्रधानमन्त्री कप क्रिकेट राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट सङ्घ क्यानको व्यवस्थापनमा हुन लागेको हो । क्यानको अहिलेको नेतृत्वले कार्य प्रारम्भ गरेपछि यो चौथो प्रतियोगिता आयोजना गर्दै छ ।
आइसिसीको निलम्बन फुकुवा भएपछि २०७६ मङ्सिरमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुद सागमा महिला र पुरुष क्रिकेट प्रतियोगिता गराएको थियो । त्यति बेला पनि क्यानले राखेपको सहयोगमा त्यो प्रतियोगिता गरेको थियो । त्यसपछि ओमान र अमेरिका सम्मिलित प्रतियोगिता गराएको क्यानले कोरोना महामारीका कारण कुनै प्रतियोगिता गर्न पाएको थिएन । तर, कोरोना महामारी कम भएसँगै हालै दाङको लमहीमा प्रधानमन्त्री कप महिला क्रिकेट आयोजना गरेको थियो ।
अब पुरुष तर्फको प्रधानमन्त्री कप क्रिकेट शुक्रवारदेखि आयोजना हुन लागेको हो । यो प्रतियोगिताका खेलहरू त्रि वि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीमा गरी २ ठाउँमा आयोजना हुने छन् । गत संस्करण राखेपले निजी क्षेत्रलाई आयोजना गर्न दिइएको थियो । जसका कारण कीर्तिपुरमा पिच र मूलपानीमा तल्लो मैदानमा म्याट विच्छाएर प्रतियोगिता आयोजना गरिएको थियो । तर, अहिले मूलपानीको माथिल्लो मैदानमा पिचमै खेलाउने गरी तयारी गरिएको छ ।
प्रतियोगिता खेल्ने दश टिम मध्ये समूह ए मा त्रिभुवन आर्मी, एपीएफ, गण्डकी प्रदेश, कर्णाली प्रदेश र प्रदेश एक रहेका छन् । त्यस्तै समूह बी मा नेपाल पुलिस, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश दुई रहेका छन् । शुक्रवार र शनिवारका खेलहरू त्रि वि क्रिकेट मैदानमा आयोजना हुने छन् भने आइतबारदेखि मूलपानी मैदानमा पनि हुने छन् । सेमिफाइनल र फाइनलका खेलहरू भने कीर्तिपुरमा हुने छन् ।