मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सानोकान्छी स्याङतानको निधनप्रति दुःख व्यक्त गर्दै जिसस मकवानपुरले सोमबार श्रद्धाञ्जलीसभा गरेको छ । कार्यालयमा सदस्य स्याङतानप्रति श्रद्धाञ्जली सभा आयोजना गरेर उहाँको सम्झनामा आज एक दिन कार्यालय बन्द गरिएको थियो ।

श्रद्धाञ्जलीसभामा जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले एकजना कर्मठ, ईमान्दार एवम् निष्ठावान सदस्य गुमाएको बताउनुभयो । प्रमुख खुलालले मकवानपुरको बिकट राक्सिराङ गाउँपलिकाका क्षेत्रमा अत्यन्तै लोकप्रिय, स्थापित अगुवा, नेकपा एमालेको कर्मठ नेतृका रुपमा नेतृत्वदायी भूमिकामा रहनुभएकी स्याङतानको असामयिक निधनले सिङ्गो जिल्ला समन्वय समिति परिवार स्तव्ध भएको उल्लेख गर्नुभयो । उहाँले मकवानपुरले महिला अधिकार र हक हितका लागि स्याङतानले गरेका कामहरु बिर्सन नसक्ने भउको बताउनुहुँदै उहाँको सकारात्मक सोँचको अनुसरण गर्नुपर्ने बताउनुभयो ।

श्रद्धाञ्जलीसभामा उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, सिता अधिकारी, गणेशकुमारी प्रधान, सरिता विक, बुद्धिबहादुर स्याङतान, समन्वय अधिकारी आनन्दराज पोखरेललगायत कर्मचारीले स्याङतानको तस्विर माथि पुष्पगुच्छा अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । यस्तै भुमि आयोगका अध्यक्ष रामेश्वर राना लगायत सदस्यहरुले पनि स्याङतान प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
कोभिड–१९ संक्रमणमुक्त हुनुभएपनि निमोनिया तथा दमसम्बन्धी स्वास्थ्य समस्याका कारण गम्भीर रुपमा प्रभावित हुनुभकी स्याङतानको स्वास्थ्य असामान्य हुँदै गएपछि २०७८ साल असार १२ गते अस्पतालबाट डिस्चार्ज भई आफ्नै निवास ल्याईएको ५८ वर्षको उमेरमा असार १३ गते बिहान राक्सिराङ गाउँपलिका वडा नम्बर–३, झिल्किने स्थित आफ्नै निवासमा असामयिक निधन भएको हो । उहाँका दुई छोरा, दुई छोरी र श्रीमान हुनुहुन्छ ।