नेपालले आयरल्यान्ड विरुद्धको दुई खेलको टी–२० शृङ्खला क्लिन स्वीप गरेको छ । आज सम्पन्न दोस्रो खेलमा नेपालले आयरल्यान्डलाई ७१ रनले पराजित गर्दै शृङ्खला २–० ले क्लिन स्वीप गरेको हो ।

त्रिबि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ९८ रनको लक्ष्य आयरल्याण्ड उल्भ्सले १८ दशमलब तीन ओभरमा १ सय २७ रन मात्र बनाउन सक्यो । उसका लागि स्टेफेन डोनीले २६ र मोर्गन टपीङले २१ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र कुशल मल्लले सामान तीन विकेट लिए । यस्तै करन केसी, कुशल भुर्तेल र विवेक यादवले समान एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । नेपालका गुल्शन झाले ४६, कुशल मल्लले ३४, रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र कुशल भुर्तेलले २५ रन बनाए । आयरल्याण्ड उल्भ्सका म्याथु फोस्टरले तीन विकेट लिए । हिजो भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड उल्भ्सलाई ६ विकेटले हराएको थियो ।