हेटाैंडा– देशभरमा आज १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज ९ सय १५ पुरुष र ४ सय ३६ महिला संक्रमित भएको जानकारी दिनुभयो ।
हालसम्म कोरोना संक्रमित हुनेको कूल संख्या ७४ हजार ७ सय ४५ पुगेको प्रा.डा गौतमले जानकारी दिनुभयो । यस्तै आज देशभर ७३ जिल्लामा १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितहरु मध्ये १० हजार ९ सय २९ जना होम आइशोलेसन र ८ हजार ६ सय ९५ जना संस्थागत आईशोलेशनमा रहेको प्रवक्ता प्रा.डा गौतमले जानकारी दिनुभयो । यस्तैगरी, गम्भीर लक्षण भएका २ सय २५ संक्रमितको आइसीयू तथा ३१ जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै संक्रमणबाट आज ७ सय ४२ जना मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ । कोरोना संक्रमणमुक्त हुनेको दर ७३ दशमलव एक प्रतिशत रहेको प्रा. डा गौतमले जानकारी दिनुभयो ।
यस्तै कोरोना संक्रमणका कारण आज थप ४ जना मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमण पछि मृत्यु हुनेको संख्या ४ सय ४१ पुगेको छ । संक्रमण बाट सुनसरी र भत्तपुरकी १–१ महिला र बाँके र गुल्मी जिल्लाका १–१ पूरुषको मृत्यु भएको प्रा डा. गौतमले जानकारी दिनुभयो ।