काठमाडौं – बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेतासहित निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसिरहेको छ । एक नेताका अनुसार महानगर र उपमहानगरको भागबण्डामा केन्द्रित बैठकमा नेताहरू लगभग सहमतिनजिक पुगेका छन् । हिजो (आइतबार) राति कार्यदलले तयार पारेको ड्राफ्टमाथि अहिले छलफल जारी रहेको बताइएको छ । एक नेताका अनुसार जुन पालिकामा जसको प्रमुखमा उम्मेदवारी हुने हो, त्यही दलको चुनाव चिह्नमा पाँचै दल सहभागी हुने सहमति भइसकेको छ । ‘गठबन्धनबीच साझा चुनाव चिन्हमा लड्ने सहमति भएको छ’, ती नेताले भने । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता एवं अनुगमन समितिका संयोजक पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेता कृष्ण सिटौलालगायत सहभागी छन् । नेकपा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वर्षमान पुन र देव गुरुङ छन् । नेकपा एसबाट अध्यक्ष माधवकुमार नेपाल, उपमहासचिव विजय पौडेल छन् । जसपाबाट बाबुराम भट्टराई, अशोक राई र जनमोर्चाबाट दुर्गा पौडेललगायत सहभागी छन् ।