हेटौंडा, माघ २५ । नेपालमा पहिलोपटक आयोजना हुन लागेकाे सालक सम्मेलनकाे तयारी पुरा भएकाे छ । बागमती प्रदेशकाे वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय चितवनकाे संयाेजनमा भाेली माघ २६ गते चितवनकाे माडीमा हुने एकदिने सम्मेलनकाे तयारी पुरा भएकाे कार्यालयका प्रमुख एवम् सालक सम्मेलनका संयाेजक विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयाे ।
आचार्यका अनुसार बागमती प्रदेशभित्रका डिभिजन वन कार्यालयका प्रमुख, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, हरेक जिल्लाका सामुदायिक वनका प्रतिनिधि र संरक्षणकर्मीहरूको सक्रियतामा गर्न लागिएको सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको अहिलेको अवस्था, संरक्षण गर्नुपर्ने कारण, चुनौतीलगायतका विषयमा छलफल गरिने छ । सम्मेलनमा सालक संरक्षणमा हातेमालो गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, विज्ञसहित २०० भन्दा बढीको सहभागितामा रहने उहाँले बताउनुभयाे ।
सम्मेलनमा सालकको अहिलेको अवस्था, संरक्षणमा देखिएका चुनौती र भावि कार्यदिशाका विषयमा छलफल गरिनुका साथै सालक संरक्षणका लागि माडी घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न हुने उहाँले बताउनुभयाे । सालक किसानको साथी भएकाले पनि यसको संरक्षण अपरिहार्य रहेको उहाँको भनाइ छ । राष्ट्रिय निकुञ्ज ऐन २०२९ ले संरक्षित वन्यजन्तुका रूपमा सालकलाई राखेको र सालक अहिले लोपोन्मुख अवस्थामा पुगेको पाइन्छ । यसको संरक्षणका लागि सबैको हातेमालो आवश्यक रहेको उहाँले बताउनुभयाे ।