मकवानपुर – पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा कक्षा ९ मा अध्ययनरत छात्रमाथि शिक्षकले निर्घात कुटपिट गरेका छन् । बकैया गाउँपालिका–३ स्थित बुद्ध माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सागर थिङलाई सोहि विद्यालयका शिक्षक योगबहादुर राईले निर्घात कुटपिट गरी घाइते बनाएका हुन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले विद्यार्थीलाई कुटेर घाइते बनाएका शिक्षकलाई कडा कारवाहीको माग गरेको छ । अनेरास्ववियू मकवानपुरका अध्यक्ष विशाल पौडेलद्धारा जारी विज्ञप्तीमा घटनाको जिम्मेवार योगबहादुर राईलाई तत्काल बर्खास्त गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ । विद्यार्थीलाई निर्घात कुटपिट गरेको घटनामा ध्यानाकर्षण जनाउँदै अनेरास्ववियु मकवानपुरले शिक्षकमाथि कानूनी कारवाहीको माग गर्दै विज्ञप्ती जारी गरेको हो । घाइते विद्यार्थीको यथाशिघ्र उपचार हुन पर्ने माग राख्दै अनेरास्ववियुले शिक्षकलाई कारवाही नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।