नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने अभियानमा एकताबद्ध भएर जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । कैलालीको लम्कीमा आज आयोजित चुनावी सभामा अध्यक्ष ओलीले एमाले बाहेक अन्य दलका कार्यकर्ताहरूलाई पनि देश बनाउने अभियानमा जुट्न आग्रह गर्नुभयो ।
आजै कैलालीको अत्तरीयामा आयोजित चुनावी सभामा अध्यक्ष ओलीले पैसामा भोट नबेच्न मतदाताहरूलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले भ्रष्टाचार गरेका व्यक्तिले चुनावमा पैसा बाँड्न सक्ने सम्भावना बढी रहेकाले भोट हाल्दा मतदाता सचेत हुनुपर्ने बताउनुभयो । उहाँले यो निर्वाचनले एमालेको जित र हार नभई देशले जित्ने कि हार्ने निर्णय गर्ने बताउनुभयो । चुनावी सभालाई एमालेका सचिव लेखराज भट्ट लगायतले सम्बोधन गर्नुभएको थियो । आजै अध्यक्ष ओलीले डोटीको दिपायलमा चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।