मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले यहाँका विपन्न तथा सिमान्तकृत चेपाङ परिवारको स्वास्थ्य विमा गरिदिएको छ । गतवर्षबाट सुरु भएको यो अभियान चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको हो ।

पैसा नभएकै कारण कोही पनि उपचारबाट वन्चित नहुन भन्ने उदेस्यले चेपाङ परिवारको स्वास्थ्य विमालाई निरन्तर्ता दिइएको भीमफेदी गाउँवपालिकाका अध्यक्ष हिदम लामाले वताउनुभयो । भीमफेदी गाउँपालिकाले सिमान्तकृत एवम् आर्थिक रुपले बिपन्न चेपाङ परिवारहरुको स्वास्थ्य बिमा गरिदिएको हो ।

संघीय सरकारले संचालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत १ सय ४० परिवारका ५ सय ५९ जनाको बिमा गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । चेपाङ समुदायका सिमान्तकृत र बिपन्न परिवारलाई स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न र स्वास्थ्य उपचारको अभावमा अकालमा कसैलेपनि ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले बिमा गरिएको अध्यक्ष लामाले बताउनुभयो ।

चालु आर्थिक वर्ष ०७६÷७७ को कूल ५ लाख २८ हजार २ सय रुपैँया लगानीमा बिमा गरीएको र कूल एक करोड ११ लाख ८० हजारसम्मको रिक्स कभरेज हुने उहाँको भनाई छ । गाउँपालिकाले स्वास्थ्य बिमा गरिदिएपछि चेपाङ समुदाय खुशी भएका छन् । स्थानीय बुनुमाया चेपाङ र शिव प्रजाले गाउँपालिकाले बिमा गरिदिएर चेपाङ समुदायलाई स्वास्थ्य उपचारको पहुँचसम्म पुर्याएको भन्दै धन्यवाद व्यक्र गरेका छन् । बिमित सबैलाई बिमा कार्ड समेत वितरण गरिएको छ ।