काठमाण्डौ – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच मङ्गलवार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग प्रतिनिधि सभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभएको थियो ।
तर, अध्यक्ष ओलीले भने आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरू राखी सदनमा आवाज उठाइरहेको बताउँदै ती मागहरू पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ । भेटवार्तामा एमालेको तर्फबाट अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव कमरेड विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो । अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल भइसकेको अवस्थामा त्यसलाई पास गराउन प्रधानमन्त्री देउवाले ओलीको साथ खोज्नुभएको छ । माओवादी र एकीकृत समाजवादीले एमसीसी पास भएमा सत्ता छाड्नेसम्मको धम्की दिन थालेपछि देउवा एमाले अध्यक्ष ओलीसँग निरन्तर छलफलमा हुनुहुन्छ ।