हेटाैंडा– २०७२ सालको विनासकारी भुकम्पले क्षति पु¥याएपछि पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरी र दरबार हाईस्कूलको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । सो अवसरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरिएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरले हाम्रा पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

प्राकृतिक एवं साँस्कृतिक सम्पदाले समृद्ध र प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाण्डौँ उपत्यकाको संरक्षण र विकासका निम्ति रानीपोखरी पुनर्निर्माण कार्य महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले पुनर्निर्माण हुँदै गरेको धरहरा र उपत्यका विकासको गुरुयोजनाको कार्यान्वयनले काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध गराउने बताउनुभयो । रानीपोखरीसँगै रहेको ऐतिहासिक दरबार हाइस्कूलले पुनर्निर्माणपछि पनि योग्य नागरिक तयार गरी मुलुकको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले सम्पूर्ण भौतिक एवं शैक्षिक पूर्वाधारले सुसज्जित दरबार हाईस्कुलले नेपालको सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरको मानक कायम राख्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । विनाशकारी भूकम्पबाट क्षतिग्रस्त दरबार हाइस्कुलको भवनलाई पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पु¥याउने मित्र राष्ट्र चीन सरकार र चिनियाँ जनताप्रति राष्ट्रपति भण्डारीले आभार व्यक्त गर्नुभयो ।

२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूका कारण व्यहोर्नुपरेको ठूलो मानवीय, आर्थिक एवं भौतिक क्षति र पीडा हाम्रो मानसपटलमा अझैसम्म ताजै रहेको स्मरण गर्नुहुँदै राष्ट्रपति भण्डारीले भूकम्पबाट घरबारबिहिनलाई घरबासको व्यवस्थासहित पुनस्र्थापना, क्षतविक्षत भएका साँस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूप मै पुनर्निर्माण गर्न र भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाहरूको पुनर्निर्माण पनि योजनावद्ध रूपमा छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले २०७२ साल माघ २ गते रानीपोखरी पुनर्निर्माण कार्यको शिलान्यास गर्नुभएको थियो । तीनसय बर्षअघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरीको आफ्नै ऐतिहासिक, साँस्कृतिक र पर्यावरणीय महत्व रहेको छ । दिदीबहिनी नहुने दाजुभाइहरूले भाइटीका लगाउने महत्वपूर्ण तीर्थस्थलका रूपमा रहेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रताप मल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण गरिएको हो ।
राष्ट्रिय पनुर्निर्माण प्राधकिरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले भुकम्पबाट क्षति पुगेका ५० प्रतिशत भन्दा बढी सम्पदाको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिनुहुँदै ऐतिहासिक, सांस्कृति सम्पदा नेपालको अमूल्य निधि भएकाले यसलाई जोगाउन सके पर्यटन विकासमा समेत सहयोग पुग्ने बताउनुभयो । राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडीखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी वृहत्तर गुरुयोजना तयार पारेको जनाएको छ । रानीपोखरीको उदघाटनका अवसरमा भारत र नेपालका विभिन्न तिर्थस्थलबाट ल्याइएको जल राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु र राष्ट्रिय सभाका अध्यक्षलगायतले रानी पोखरीमा अर्पण गर्नुभएको थियो ।