हेटौंडा– नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २० हजार एक सय १८ जनाको नमुना परीक्षण गरिएकोमा ५ हजार ७४३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यो संगै नेपालमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा २ हजार ९९६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ९९ हजार ६०५ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । अब नेपालमा ४४ हजार ४७६ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार ६५ जना क्वरेण्टीनमा रहेको प्रवक्ता गौतमले बताउनुभयो ।
यस्तै गएको २४ घण्टामा २६ जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९१ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।