हेटाैंडा– कोरोना भाइरसकाे सङ्क्रमण भएर होम आइसोलेशनमा रहनुभएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि काठमाण्डाै लगिएकाे छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी विजया पाैडेललाई समेत उपचारका लागि काठमाण्डाै लगिएकाे छ । मधुमेहका बिरामी समेत रहनुभएका मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो ।

बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंँडा अस्पतालका चिकित्सकद्वारा पौडेलको उपचार गरिएको थियो । नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाण्डाै ल्याइएकाे पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।पौडेलको उपचार गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । एक दिनअघि मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।