काठमाडौं । अमेरिकी अनुदान सहायताअमेरिकी आर्थिक सहायता मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभामा प्रस्तुत गर्ने विषयमा निर्णय लिन सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु भएको छ । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको ‘निर्णायक बैठक’ प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको हो । संसद बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धनका दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप बैठक बसेको हो ।
बालुवाटारको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र सञ्चार तथा सूचना प्रविधि एवं सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की सहभगी हुनुहुन्छ । साझा धारणा बनाउने प्रयासमा यसअघि पटक–पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएका थिए ।यसअघि शुक्रबार बसेको गठबन्धनको बैठकलाई निर्णायक भनिए पनि अन्तिम समयमा नेकपा एसले समय मागे पछि आज आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।
नेकपा समावजादीको हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनपर्ने निर्णय गरेको छ । सत्ताघटक माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । संसद बैठक दिउँसो १ बजेका लागि डाकिएको छ । आजको संसदको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । संसद बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद बैठकको अन्तिम कार्यसूची तय गर्नेछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आजपनि संसद बैठक अवरोध गर्ने बताएको छ ।