मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवापुरले आगामी बैशाख ९ देखि १८ गते सम्म प्रथम स्थानीय तह जिल्ला स्तरीय पुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । जिससको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
आईतबार जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको स्थानीय तह समन्वय बैठकमा प्रतियोगिता आगामी बैशाख ९ गते देखि १८ गते सम्म आयोजना गर्ने निर्णय भएको हो । प्रतियोगिताको सम्पूर्ण खर्च जिससले व्योहोर्ने तथा व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समितिले गर्ने निर्णय गरिएको छ । साथै प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहबाट सहभागिता रहने जिसस प्रमुख खुलालले जानकारी दिनुभयो । “प्रतियोगिताको सम्पूर्ण खर्च जिसस व्योहोर्ने तथा पालिकाहरुबाट आउने खेलाडीहरुको खाने बस्ने व्यवस्था भने सम्बन्धीत स्थानीय तहले व्योहोर्ने निर्णय भएको छ ।”– प्रमुख खुलालले भन्नुभयो । यहि चैत्र महिनामा आयोजना गर्ने भनिएको प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्नुपर्ने भएकाले बैशाखमा सारिएको हो ।
बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, थाहा नगरपालिका मेयर लबशेर बिष्ट, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढीका अध्यक्ष बिदुर हुमागाई, ईन्द्रसरोवरका अध्यक्ष जिवन लामा, भीमफेदी अध्यक्ष हिदम लामा, राक्सिराङ अध्यक्ष राजकुमार मल्ल, कैलाश अध्यक्ष टंक मोक्तान, प्रमुख जिल्ला अध्यक्ष गोविन्द प्रसाद रिजाल, समन्वय अधिकारी आनन्दराज पोखरेललगायतको सहभागिता थियो ।