मकवानपुर– मकवानपुरमा शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ स्थापना भएको शैक्षिक सहयोग अक्षयकोषमा जिल्लाका सबै स्थानीय तहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आईतबार जिल्ला समन्वय समिति मकवानपुरमा आयोजित स्थानीय तह समन्वय बैठकमा पालिकाका प्रमुखहरुले संस्थागत सदस्य बनेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
संस्थाका अध्यक्ष समेत रहनुभएका जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहका प्रमुखहरुले शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने पबित्र उदेश्यका साथ स्थापना भएको संस्थाको संस्थागत सदस्य बन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । संस्थामा संस्थागत सदस्य बन्नका लागि २० हजार रुपैया निर्धारण गरिएको छ । यस्तै साधारण सदस्यताका लागि वार्षिक एक हजार, आजिवन सदस्यताका लागि १० हजार र बिशिष्ट सदस्यताका लागि १५ हजार निर्धारण गरिएको संस्थाका अध्यक्ष खुलालले जानकारी दिनुभयो । संस्थामा हालसम्म ९३ जनाले सदस्यता लिनुभएको र हालसम्म करीब १० लाख रुपैया जम्मा भएको उहाँले बताउनुभयो । संस्थाले यसै वर्षबाट जिल्लाका १० वटै पालिकाका एक जनाका दरले छात्रबृति वितरण गर्ने तयारी समेत गरेको उहाँले बताउनुभयो ।
बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, थाहा नगरपालिका मेयर लबशेर बिष्ट, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढीका अध्यक्ष बिदुर हुमागाई, ईन्द्रसरोवरका अध्यक्ष जिवन लामा, भीमफेदी अध्यक्ष हिदम लामा, राक्सिराङ अध्यक्ष राजकुमार मल्ल, कैलाश अध्यक्ष टंक मोक्तान, प्रमुख जिल्ला अध्यक्ष गोविन्द प्रसाद रिजाल, समन्वय अधिकारी आनन्दराज पोखरेललगायतको सहभागिता थियो ।