file photo

हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको इन्चार्जमा केन्द्रीय सदस्य रामेश्वर राना चयन भएका छन् । नेकपा एमालेले आज दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिका सदस्यरुको कार्यविभाजन गरेको हो । जसअनुसार राना मकवानपुरको इन्चार्ज चयन भएका हुन् । राना यसअघि मकवानपुरका सहइन्चार्ज थिए ।
यस अघि इन्चार्ज रहेका केन्द्रीय सदस्य विरोध खतिवडा भने जिम्मेवारी बिहिन भएका छन् । माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि परिभाषित जिम्मेवारी दिइएको छैन । उनीहरू पार्टीको मूलधारमा फर्किएपछि उपयुक्त जिम्मेवारी दिइने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा शुक्रबारको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी हेरफेर गरेको हो । अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेल उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएका छन् । त्यस्तै विष्णु पौडेल संगठन विभाग प्रमुख भएका छन् । रामबहादुर थापा ‘बादल’ वागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभागको प्रमुख बनेका छन् ।