
मकवानपुर । सहिद सप्ताह २०८१ का अवसरमा शनिबार हेटौंडा–११, स्थित सहिद स्मारक परिषरमा विशेष सरसफाई कार्यक्रम आयोजना गरिएको छ । सहिद स्मारक विकास समितिले सहिद दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज तेस्रो दिन स्मारक परिषरमा विशेष सरसफाई कार्यक्रम आयोजना गरिएको हो ।
स्मरक विकास समितिले हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिदहरुको सम्झनामा विविध कार्यक्रमको आयोजना गरेर दिवश मनाउदै आएको छ । जस अनुसार, पहिलो दिन माघ १० गते राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरिएको थियो । भने हिजो दोस्रो दिन पत्रकार भेटघाट तथा बधाई कार्यक्रमको आयोजना गरिएको समितिका सचिव रघुनाथ खुलालले जानकारी दिनुभयो ।

सचिव खुलालका अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आईतबार माघ १३ गते बिहान साढे ७ बजे नेपाल रेडक्रस सोसाइटी हेटौंडा–११ शाखाको व्यवस्थापनमा रक्तदान कार्यक्रम, माघ १४ गते बिहान साढे ७ गते लखन वाटीका व्यवस्थापन समितिको व्यवस्थापनमा हेटौंडा–१२ स्थित प्रथम सहिद लखन थापा वाटीकामा श्रद्धान्जली कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
यस्तै, माघ १५ गते मदन भण्डारी फाउण्डेशनको व्यवस्थापनमा नगर स्तरीय बाल क्लबहरुको सहभागीमा “लोकतन्त्र प्राप्तीका लागि राजनितिक दलको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता र शिक्षक संगठनको व्यवस्थापनमा शिक्षक दौड प्रतियोगिता र महिला शिक्षकको स्लो स्कुटर प्रतियोगिता आयोजना हुने सचिव खुलालले बताउनुभयो । यस्तै माघ १६ गते बिहान साढे ७ बजे बागमती प्रदेश सरकारको समन्वयमा प्रभातफेरी, सहिद प्रति सलामी, पुष्पार्पण, श्रद्धान्जली सभा र सम्मान कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रमको समापन गरिने सचिव खुलालले बताउनुभयो । सरसफाइ कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य गाेपालबहादुर श्रेष्ठ, हेटाैंडा सिमेन्ट उद्याेगका अध्यक्ष नरेन्द्र भण्डारीलगायतकाे पनि सहभागिता थियाे ।
