नागरिक एपबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी फिचर नै गायब भएको छ । यसअघि त्यसमा सवारी चालक अनुमति पत्रको अप्सन थियो ।

नागरिक एपमा रहेको लाइसेन्स नै प्रयोग गर्न सकिन्थ्यो । ट्राफिक प्रहरीले कुनै कसुरमा सवारी चालकलाई कारबाही गर्नुपरे त्यहाँ रहेको क्यूआर कोडलाई आधार बनाउन सक्थे । साथै सवारी चालकले गरेका गल्ती र जरिबाना रकम तिरे नतिरेको रेकर्डसमेत हेर्न सकिन्थ्यो । तर, अहिले सवारी चालक अनुमतिपत्रको अप्सन नै हराएको छ । 

२३ र २४ भदौमा भएको जेन-जी पुस्ताको आन्दोलनको क्रममा मीनभवनमा रहेको यातायात व्यवस्था विभागको भवनमा तोडफोड र आगजनी हुँदा केन्द्रीय सर्भरसहितका सबै सामग्री ध्वस्त भएका छन् । सर्भर नै ध्वस्त भएपछि नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्समा समेत त्यसको असर परेको हो । 

यातायात सम्बन्धी सबै विवरणसहितको केन्द्रीय सर्भर विभागको मीनभवन कार्यालयमै थियो । केन्द्रीय सर्भर नै ध्वस्त भएपछि यातायात कार्यालयहरूमा ‘EDLVRS System’ चलेको छैन । देशभरका यातायात कार्यालयहरूले उक्त प्रणाली नचलेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा स्थगित गरेका छन् ।

सोही प्रणाली नागरिक एपसँग आबद्ध गरिएको थियो । मुख्य सर्भर नै ध्वस्त भएसँगै नागरिक एपबाट लाइसेन्सको अप्सन हटेको हो ।