फाइल तस्विर

आज विभिन्न देशमा समस्यामा परेका १५ सय ५१ जना नेपाली स्वदेश फर्किएका छन् । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विभिन्न देशमा समस्यामा रहेकाहरु ८ चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् ।

आज सबैभन्दा धेरै यूएईबाट तीन उडानमार्फत पाँच सय ९७ जना नेपाली स्वदेश फर्किएका छन् । यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत एक बच्चासहित १५२ जना, दुबई विमानस्थलबाट फ्लाई दुबईको चार्टर्ड उडानमार्फत एक बच्चासहित १८४ जना र दुबईबाटै नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २६१ जना नेपाली स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

यस्तै आज साउदीको रियादबाट १ बच्चासहित २४६ जना, कतारको दोहाबाट तीन बच्चासहित १४६ जना, कुवेतबाट पाँच बच्चासहित १६१ जना, बंगलादेशको ढाकाबाट २४५ जना, मलेसियाबाट १५६ जना स्वदेश फर्किएका छन् । आज राति बहराइनमा समस्यामा परेका नेपाली लिन नेपाल एअरलाइन्सको चार्टर्ड जहाज त्यसतर्फ उड्ने तालिका रहेको छ । आज मात्रै त्रिभुवन विमानस्थलमा ११ वटा अन्तर्राष्ट्रिय उडान भएको छ भने आन्तरिकतर्फ ६ उडान भएका छन्।