सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा झण्डै साढे ८ अर्ब रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संसदमा कोरोना रोकथाम र नियन्त्रणको लागि १० अर्ब रुपैयाँ खर्च भएको जानकारी दिएपछि सांसदहरुले खर्चको विवरण माग गरेका थिए । १० अर्ब रुपैयाँ कहाँ गयो भनेर अहिले सडकमा पनि आन्दोलन भइरहेको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीले हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको जनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभएको छ । संघीय सरकारले ४ अर्ब १० करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ । यसबाट स्वास्थ्य सामग्री खरिदमा ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वरेन्टिनमा १३ करोड ५५ लाख १८ हजार र अन्यमा ४० करोड १५ लाख रुपैयाँ खर्च भएको छ ।
यस्तै सात वटै प्रदेश सरकारले १ अर्ब ३० करोड ४ लाख रुपैयाँ खर्च भएको र ७ सय ५३ वटा पालिकाहरुले २ अर्ब ९८ करोड ५१ लाख १४ हजार रुपैयाँ खर्च गरेका छन् । यो खर्च सिसिएमसीको निर्देशक समितिको निर्णय अनुसार सार्वजनिक भएको पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । यस्तै कोरोना कोषमा ४ अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ जम्मा भएको छ ।