सांकेतिक तस्विर

मकवानपुर, माघ १९ । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेका तर लामो समयदेखि फरार रहेका ७ जना प्रतिवादीलाई पक्राउ गरेको छ । लागूऔषध, चोरी, चेक अनादर तथा हातहतियार खरखजना मुद्दाका प्रतिवादीहरू पक्राउ गरिएको प्रवक्ता बोगटीले जानकारी दिनुभयो ।
प्रवक्ता बोगटीका अनुसार विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा आईतबार ७ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा हेटौंडा–१७ बर्ष ३८ का अर्जिन कुमार राउत, हेटौंडा– १४ बस्ने बर्ष ३३ को चन्द्र बहादुर गोले, हेटौंडा– १६ बस्ने वर्ष २८ को बिनय बिक, हेटौंडा–१९ का वर्ष २० का आकाश तामाङ र बर्ष ३० का मनोज लामा, हेटौंडा– १३ बस्ने वर्ष ३८ का बुद्ध गोले र कैलाश गाउँपालिका–६ बस्ने बर्ष २७ को बिजय कुमार मुक्तान रहेका छन् ।
जिल्ला अदालत मकवानपुरले लागुऔषध मुद्दामा अर्जिन कुमार राउतलाई १ महिना १७ दिन कैद र चन्द्र बहादुर गोललाई एक वर्ष कैद र ४ हजार ५ सय जरिवाना सजाय सुनाएको थियो । त्यस्तै चोरी मुद्दामा बिनय बिकलाई ४ महिना कैद, आकाश तामाङ र मनोज लामालाई क्रमशः ३ महिना कैद र ५ हजार २ सय रुपैयाँ जरिवाना सुनाएको थियो । यस्तै बुद्ध गोलेलाई चेक अनादर मुद्दामा तीन हजार जरिवाना र हातहतियार खरखजना मुद्दाका प्रतिवादी बिजय कुमार मुक्तानलाई २ वर्ष कैद र २० हजार जरिवानाको सजाय सुनाएको थियो । पक्राउ परेका ७ जनालाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।