मकवानपुर, माघ १९ । मकवानपुर प्रहरीले भिमफेदी कारागार र बालसुधार गृहबाट फरार ३ जना कैदिबन्दीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार खोजतलासका क्रममा भीमफेदी कारागारबाट फरार भएका २ जना कैदी र बाल सुधारगृह हेटौँडाबाट फरार भएका एकजना बालकलाई नियन्त्रणमा लिईएको हो ।
प्रहरीका अनुसार जबर्जस्ती करणी मुद्दाका प्रतिवादी मकवानपुरको बागमती गाउँपालिका–६ कैलेडाँडा बस्ने ३० वर्षका मुन्ना स्याङ्तान, लागुऔषध ट्रामाडोल मुद्दाका प्रतिवादी हेटौँडा उपमहानगरपालिका–७, हरियाली बस्ने २२ वर्षीय विशाल गोलेलाई नियन्त्रणमा लिईएको हो । यस्तै लागुऔषध ब्राउनसुगर मुद्दामा बालसुधार गृह हेटौँडाबाट फरार भएका एकजना बालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायबउपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
बोगटीका अनुसार तीनैजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ १७ र १८ गते विभिन्न स्थानमा फेला पारी पुनः भीमफेदी कारागार र बालसुधार गृह हेटौँडामा पठाइएको छ । जेन–जी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट ४४० जना कैदीबन्दी र बाल सुधारगृह हेटौँडाबाट ५८ जना बालबन्दीहरु भागेका थिए ।









