मकवानपुर, माघ १८ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभा वर्तमान र भविष्यप्रति उत्तरदायी संस्था भएको बताउनुभएको छ । प्रदेश सभाको सभाको आठौँ वार्षिकोत्सवका अवसरमा हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।

प्रदेश प्रमुख देवकोटाले प्रदेश सभा वर्तमान पुस्ताको प्रतिनिधि मात्र नभई भावी पुस्ताको शासन, स्थायित्व र जनविश्वासको आधार निर्माण गर्ने उत्तरदायी संवैधानिक संस्था भएको बताउनुभयो । उहाँले नेपालको संविधानले प्रदेश सभालाई जनताको सर्वोच्च अधिकार प्रयोग गर्ने लोकतान्त्रिक अभ्यासको प्रमुख थलोका रूपमा स्थापित गरेको उल्लेख गर्नुहुँदै यसको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सभाले कानून तथा नीति निर्माणमार्फत प्रदेश सरकारलाई उत्तरदायी बनाउँदै प्रदेश विकासमा योगदान दिएको बताउनुहुँदै उहाँले वार्षिकोत्सव उपलब्धिको उत्सव मात्र नभई आत्ममूल्यांकन, संस्थागत सुदृढीकरण र जिम्मेवारी दोहो¥याउने अवसर भएको बताउनुभयो ।
उहाँले प्रदेशवासीले संख्यात्मक भन्दा गुणस्तरीय कानून, औपचारिक बहसभन्दा परिणाममुखी निर्णय र जनताले प्रत्यक्ष अनुभूति गर्ने सुशासनको अपेक्षा गरिरहेको उल्लेख गर्नुहुँदै प्रदेश सभाका सबै गतिविधि संविधानको मर्म, लोकतान्त्रिक मूल्य र जनहित केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेशको समृद्धिका लागि प्रदेश सभा अझ सक्रिय र जनमुखी रहने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश संरचनामा निजामती कर्मचारीका कारण समस्या देखिएको बताउनु भएको छ । उहाँले संघीय सरकारको पत्र देखाएर प्रदेश सरकारले गरेका निर्णय कार्यान्वयन नगर्ने प्रवृत्तिले शासन सञ्चालनमै असर परेको बताउनुभयो । सरकारको सफलता वा असफलता कर्मचारीको भूमिकामा निर्भर रहने उल्लेख गर्नु हुँदै उहाँले नेताहरूको बोली र व्यवहारबीचको अन्तरले पनि लोकतान्त्रिक व्यवस्थामाथि चुनौती थपिएको बताउनुभएको छ । उहाँले निर्वाचनको विकल्प नरहेकाले अब निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका गर्ने समय सकिएको पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री सालिकराम जम्कट्टेलले प्रदेशसभाको बैठक बोलाउन र सभामुखको निर्वाचन गर्न माग गर्नुभयो । हाल प्रतिनिधि सभा नरहेको अवस्थामा प्रदेश सभाले त्यसको रिक्तता पुरा गर्नुपर्ने भन्दै विधि र पद्धति भित्र रहेर गरेका काममा सधै समर्थन रहने बताउनुभयो । उहाँले संविधानको रक्षा र स्थायीत्वका लागि कुनै पनि हालतमा निर्वाचन हुनै पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले संघियता पछि पछिल्लो आठ वर्षमा भएका कामको प्रचार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले गरेका कामका विषयमा जनतालाई जागृत गराउनुपर्ने र जनताले प्रदेश हम्रो हो भन्न सक्नु पर्ने बताउनुभयो । उहाँले प्रदेश प्रति सबै जिम्मेवार बन्नु पर्ने धारणा राख्नुभएको छ ।
कार्यक्रममा बागमती प्रदेश एमाले संसदिय दलका नेता जगनाथ थपलियाले संघियताकै कारण सिंहदरवारको अधिकार घरदैलोमा पु¥याउन सकिएको साथै वडा र वस्तिहरुमा अधिकार प्राप्त भएको उल्लेख गर्नुभयो । उहाँले प्रदेशको हकमा नयाँ भएकाले केहि कमिकमजोरी भएका हुन सक्ने भन्दै त्यसलाई चलखेल गरेर संघियता नै धरापमा पर्ने चलखेल भईरहेको बताउनुभयो । यस्तै साविक नेकपा समाजवादीका संसदिय दलका नेता कृष्णप्रसाद शर्मा खनालले राजनैतिक दलको कार्यशैली र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभाले कामरु समेटिएको प्रदेशसभा दर्पण पुस्तक विमोचन गरिनुका साथै र्कचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।









