नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको २६ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा २७२ दिन अवधिको लागि लगानी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २० करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड ९० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ३० लाख रुपैयाँ गरी कूल २६ करोड रुपैयाँ लगानी गर्न लागेको हो । बैंकले उक्त रकम २०७७ भदौ १ गतेदेखि २०७८ जेठ २ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो ।
राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी साउन १९ गतेसम्ममा बोलकबोल पेश गर्न भनेको छ । यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनुपर्नेछ ।