मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको अभियानमा सबै सरोकारवाला निकायबीच सहकार्य र सहयोग आवश्यक रहेकाे बताउनुभएको छ । मकवानपुर जिल्लालाई सहयोगापेक्षी जिल्ला घोषणा गरेको दोस्रो वर्ष पुरा भएको अवसरमा आयोजित अन्तरकृया कार्यक्रममा उहाँले सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्रिय निर्माणमा सबैको सहकार्य जरुरी रहेको बताउनुभएको हो ।

कार्यक्रममा प्रमुख खुलालले सरकारको नीतिमा रहेको सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्रिय अभियानमा मानव सेवा आश्रमसंगै सरकारी तथा गैर सरकारी संघ÷संस्था, समुदाय र व्यक्तिको सकारात्मक पहल हुनुपर्ने बताउनुभयो । मकवानपुर देशमै पहिलो सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला घोषणा गर्दाको समय सम्झदै उहाँले सबैको सकारात्मक प्रयासबाट नै त्यो सम्भव भएको बताउनुभयो । जिल्लालाई हरेक हिसाबले सकारात्मक बनाउने उद्धेश्यका साथ अहिले पनि काम भईरहेको भन्दै उहाँले आगामी दिनमा समेत निरन्तर सेवा प्रदान गर्न आग्रह गर्नुभयो । समुन्नत समाजसंगै सुखि नेपाली समृद्ध नेपाल निर्माण लागि समाजको चेतना अभिबृद्धि हुनुपर्ने र मानवता प्रबद्र्धनको काम गर्न जरुरी रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव मान बहादुर बिकले मानव सेवा आश्रमले गरेको कार्य मानवताको उदाहरणिय कार्य भएको बताउनुभयो । उहाँले तीन तहका सरकारले यसमा सहयोग गर्नुपर्ने भन्दै उहाँले बागमती प्रदेश सरकारले यसलाई अभियानकै रुपमा सुरु गरेको बताउनुभयो । उहाँले सहयोगिापेक्षी मानव सडकमा आउनुको कारण पत्ता लगाएर त्यसमा काम गर्नुपर्ने भन्दै त्यस्ता मानवहरु सडकमा नआउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै मानव सेवा आश्रमका प्रमुख संरक्षक डा गोविन्द टण्डनले पछिल्लो समय सरकारले समेत अभियनलाई अपनत्व ग्रहण गरेकाले अभियन सफल हुने बताउनुभयो । उहाँले अभियानलाई सफल बनाउन बिशेषगरि स्थानीय तहलाई सहभागि गराउनु पर्ने र स्थानीय तहले अपनत्व ग्रहण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहयोगापेक्षी मानव मुक्त जिल्ला घोषणापश्चात मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडाले प्रदान गरेका सेवाहरुका बारेमा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले प्रस्तुति गर्नुभएको थियो । उहाँले मानवसेवा आश्रमले सहयोगापेक्षी सडक मानवमुक्त मकवानपुरको घोषणापश्चात् हालसम्म २ सय ७२ जनाको उद्धार गरिसकेको छ भने १ सय १७ जनाको पारिवारिक पुनर्मिलन गरेको छ । आश्रममा ३१ जनाले देहत्याग गरेका छन् भने, आश्रममा हाल २ सय ५ जना ले सेवा लिईरहनुभएको उहाँले बताउनुभयो । उहाँले उद्धार गरिएकाको संख्या अनुरुप खाद्यान्न र लत्ताकपडामा समस्या, औषधी उपचारमा समस्या, स्थानीय तहको सहकार्य कम, उद्धारका लागि अनुरोध गर्ने तर अभिभावकत्वका लागि तयार नरहने, परिवारिक पुनर्मिलनका लागि लामो दुरीमा जाँदा साधनको अभाव, मदिरासेवन गर्ने र अव्यबस्थित बसोबास गर्ने व्यक्तिलाई प्रहरीले आश्रममा ल्याउँदा व्यबस्थापनमा समस्या र भागेर जाने, वास्तविक सहयोगापेक्षी पहिचानमा समस्या रहेको बताउनुभयो । कार्यक्रममा बालबालिकाहरुलाई संरक्षण गर्दै आएको मामाघर नेपाल मकवानपुरका संरक्षक अर्पण पराजुलीले घोषणाको दुई वर्षमा जिल्लामा निकै परिवर्तना भएको बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव हरि लम्साल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, सिविन बाल हेल्पलाइन मकवानपुरका संयोजक झवेन्द्र ज्ञवाली, सिआन पुर्नस्थापना केन्द्रका प्रमुख सौजन डिसी, ओम बृद्धाश्रमका सचिव दिपक सुवेदीलगायत सहयोगी संस्थाका प्रतिनिधिहरुले अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको थियो । २०७५ साल फागुन ४ गते जिल्ला समन्वय समिति मकवानपुरको पहलकदि तथा मानवसेवा अश्रम र अन्य वृद्ध आश्रम, बालआश्रम सहितको सहकार्यमा मकवानपुर जिल्लालाई सहयोगापेक्षी मानव मुक्त जिल्ला घोषणा गरिएके थियो । घोषणाकाे तेस्रो वर्ष प्रवेशको अवसरमा हालसम्मको अवस्था र भावि योजनाका बारेमा छलफल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।