मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिक्षकले विद्यार्थीलाई पढाउने मात्र नभई सिक्न मद्दत गर्नुपर्ने बताउनुभएको छ । हेटौंडा– ११, नवलपुरस्थित त्रिभूवन माविको नवनिर्मित भवन हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री पौडेलले विद्यार्थीलाई पढाउने नभई शिक्षकहरुले मिहिनेतका साथ सिकाउन मद्दत गर्नुपर्ने बताउनुभएको हो । शिक्षकहरूले पढाउने मात्र नभइ विद्यार्थीकाे सिकाइ उपलब्धीमा ध्यान दिनुपर्ने उहाँकाे भनाइ थियाे ।

विद्यालय भवन विद्यालयलाई हस्तान्तरण गर्नुहुँदै मुख्यमन्त्री पौडेलले शिक्षकले अब शैक्षिक गुणस्तर र विद्यार्थीको सिकाई उपलब्धी बढाउन अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले भुकम्पका कारण धेरै धनजनको क्षती भएता पनि शैक्षिक क्षेत्रमा भने अवसर प्राप्त भएको बताउनुभयो । भुकम्पका कारण शैक्षिक पुर्वाधार निर्माणमा ठुलो उपलब्धी हासिल भएको उहाँको भनाई थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत २०७२ सालको भूकम्पबाट क्षति भएको नवनिर्मित १२ कोठे तीन तल्ले भवन मंगलबार विद्यालयलाई हस्तान्तरण गरिएको हो । विद्यालयमा एउटा प्रारम्भिक बालविकास कक्षासहित १२ वटा कक्षा कोठा साथै शौचालय पनि निर्माण गरिएको छ ।

जापान सरकारको ऋण सहयोगमा नेपाल सरकारले ३ करोड ५२ लाख ४ हजार रुपैयाँमा ठेक्कामार्फत विद्यालय भवन निर्माण गरेको हो । विद्यालय भवन हस्तान्तरण कार्यक्रममा ११ नम्बर वडा अध्यक्ष गोकर्णप्रसाद पराजुली, ३ नम्बर वडा अध्यक्ष रामकुमार पुडासैनी, विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलगायतको सहभागिता थियो । विद्यालयमा हाल ६ सय २ जना विद्यार्थी अध्यनरत रहेका छन् ।