मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट आठौं संस्करणको प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी सुरु भएको छ । ५ दिवशीय प्रदर्शनीको बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभयो ।
प्रदर्शनीको उद्घाटन गर्नुहुँदै मन्त्री मोक्तानले प्रदेश सरकारले उद्यमशीलतालाई जोडदिन, दक्ष जनशक्ति निर्माण गर्न, बजार व्यवस्थापन गर्न, महिला उद्यमी लक्षित कार्यक्रमहरु गर्न योजना बनाएको बताउनुभयो । उद्यमशीलताको क्षेत्रमा महिलालाई प्रोत्साहित गर्न स्थानीय तहमार्फत गरिने कामहरु प्रभावकारी हुने भन्दै उहाँले प्रदेश सरकारको पूर्ण साथ र सहयोग रहने बताउनुभयो । उहाँले महिलाहरुलाई घरबाट बाहिर निस्कन र सामाजिक रुपमा अघि बढन तथा उद्यमशील हुनसमेत चुनौति रहेको भन्दै यस्ता कार्यक्रमले व्यवसाय प्रवद्र्धन एवम् विस्तार गर्न चाहने तथा नव उद्यम गर्न चाहने महिलाहरुलाई थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद एकालाल श्रेष्ठले महिला उद्यमीहरुलाई व्यवसाय प्रवद्र्धन एवम् विस्तार गर्न यस्ता प्रर्दशनीले भुमिका खेल्ने बताउनु भयो । महिला उद्यमी विकास समिति मार्फत विभिन्न सीपमूलक तालिमहरुको आयोजना गर्दै मउबासंघले मुलुककै पहिलो महिला विशेष आर्थिक क्षेत्र (उमन सेज) निर्माणको लागि प्रस्ताव तयार गरी पहल गरिरहेकामा बधाई दिदै आठौं महिला उद्यमी प्रदर्शनीले नव उद्यम गर्न चाहने महिलाहरुलाई थप हौसला प्रदान गर्ने विश्वास लिएका बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामा, हेटौंडा–११ का वडा अध्यक्ष जुना दहाल, उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रिनाथ शर्मा, नेकपा एमालेका नेतृ सुमित्रा काफ्ले, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमशर्मा ढकाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
५ दिन सम्म चल्ने प्रदर्शनीमा महिला तथा कृषि उद्यमीहरुले उत्पादन गरेको बस्तुहरुको स्टलहरु राखिएका छन् । साथै कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुती, सफलताको कथा प्रस्तुती, पेशागत प्यानल छलफल तथा कृषि अन्तक्र्रिया जस्ता कार्यक्रमहरु पनि रहेको जनाईएको छ । आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी आयोजनाको लागि बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य,भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेटौंडा उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, मकवानपुर जिल्लाका विभिन्न पालिकाहरुलगायत सबै सहयोगी तथा सहकार्य रहेको छ ।