file photo

काठमाडौं । प्रतिनिध सभाको बैठक आज बस्दैछ। अमेरिकी अनुदान सहायता ‘मिलेनियम च्यालेन्स कर्पोरेसन’ (एमसिसी) नेपाल कम्प्याक्ट संसदमा फागुन ८ गते टेबल भएपछि पटक–पटक सर्दै आएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो।
फागुन १२ गते बस्ने भनिएको बैठक सत्ता गठबन्धनबीच कुरा नमिलेसँगै अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो। १३ गते पनि सूचना टाँसेरै आइतबारका लागि बैठक सारिएको थियो। संसद सचिवालयले आज बस्न लागेको बैठकको संभावित कार्यसुची सार्वजनीक गरिसकेको छ । आजको बैठकको मुख्य एजेण्डामा एमसिसी नेपाल कम्प्याक्ट नै छ। संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले १ः०० बजे बस्ने बैठकमा एमसीसी विषयमाथि छलफल हुने कार्यसूची सार्वजनिक गर्नुभएको हो।
संसद् सचिवालयले शनिबार प्रकाशित गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ । एमसीसीको विषयमा सैद्धान्तिक छलफलका क्रममा बोल्न चाहने सांसदलाई ३ मिनेटको समय दिने सहमति कार्यव्यवस्था परामर्श समितिको छ ।त्यसपछि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएमा दफावार छलफलका क्रममा दलीय आधारमा सांसदहरूलाई लामो समय बोल्न दिइने छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । बिहान साढे ११ बजेका लागि बैठक बोलाएको हो । बैठकले संसद् बैठकका कार्यसूची निर्धारण गर्नुका साथै संसद्‍मा जारी अवरोधलगायत विषयमा छलफल गर्नेछ ।