सांकेतिक तस्विर

मकवानपुर– मकवानपुरको हेटौँडा स्थित एक प्रहरी चौकीमा कार्यरत एकजना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी चौकी सिल गरिएको छ । हेटौँडा उपमहानगरपालिका–१७ स्थित प्रहरीमा कार्यरत प्रहरीलाई संक्रमण पुष्टि भएपछि चौकी सिल गरिएको हो ।
चौकीमा कार्यरत मोरङ विराटनगर घर भएका ३१ वर्षीय प्रहरीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि अनिश्चितकालको लागि प्रहरी चौकी सिल गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
मकवानपुरमा कार्यरत प्रहरीलाई कोरोना संक्रमण देखिएको यो पहिलो घटना भएको प्रहरी नायब उपरिक्षक रानाले जानकारी दिनुभयो । उनलाई अहिले हेटौँडा–४ स्थित आइसोलेसनमा भर्ना गरिएको छ भने चौकीमा रहेका अन्य ६ जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको उहाँले बताउनुभयो । उनीहरूको कोरोना परीक्षणको लागि हेटौँडा स्थित प्रादेशिक कोरोना प्रयोगशलामा स्वाब पठाइसकिएको समेत रानाले जानकारी दिनुभयो ।
त्यस्तै संक्रमित प्रहरीको कुनै ट्राभल हिस्ट्री नरहेको समेत रानाले जानकारी दिनुभयो । ‘उनी लामो समयदेखि घर पनि गएका थिएनन् । हटिया क्षेत्रमा ड्युटीमा खटिएका थिए’, रानाले भन्नुभयो । रानाका अनुसार संक्रमित प्रहरीसहित क्वारेन्टाइनमा बसेका प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ नआएसम्म सिल कायम राखिने छ ।