मकवानपुर, जेठ ६ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने ‘भीमफेदी–कोगटे–इपा–सिस्नेरी’ सडकखण्ड विस्तारमा प्रदेश सरकारले चासो देखाएको छ । यसै क्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले प्राविधिक टोलीसहित उक्त प्रस्तावित सडकखण्डको स्थलगत निरीक्षण गर्नुभएको छ ।

मन्त्री डा. देवकोटा, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक नवीनकुमार सिंह र पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख सुजन भण्डारीसहितको टोलीले वैकल्पिक सडकको सम्भाव्यता अध्ययन तथा अनुगमन गरेको हो । अनुगमनका क्रममा मन्त्री डा. देवकोटाले त्यहाँको भौगोलिक अवस्था, हरित उद्यमशीलता, पकेट क्षेत्र विस्तार र पर्यटकीय सम्भाव्यताबारे जानकारी लिनुभयो । यो सडक निर्माण हुँदा भीमफेदी गाउँपालिकाको कोगटे, इपालगायत क्षेत्रका स्थानीयको जीवनयापन सहज हुनुका साथै भीमफेदीबाट सिस्नेरी आवतजावत गर्न प्रभावकारी वैकल्पिक मार्ग बन्ने उहाँले बताउनुभयो ।
सडक विस्तारमा प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री देवकोटाले यसलाई भौतिक पूर्वाधारमा मात्र सीमित नराखी स्थानीयको आयआर्जन र हरित उद्यमशीलताका लागि पकेट क्षेत्र बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो । “सडक बनाएर सहरको सामान मात्र गाउँ ल्याउने परिपाटी अन्त्य गर्नुपर्छ । गाडीले बजारबाट जङ्क फुड मात्र ल्याउने होइन, गाउँबाट फर्किंदा ग्रामीण कृषि उत्पादनले भरिनु आवश्यक छ,“ मन्त्री देवकोटाले भन्नुभयो, “पालिकाले साझेदारी मोडलमा कृषि र पर्यटनमा आधारित उद्यमशीलताका कार्यक्रम सञ्चालन गर्न कृषि तथा पर्यटन मन्त्रालयसँग समन्वय गर्नुपर्छ ।“

विगतमा जिल्ला विकास समिति र साविकका गाविसहरूले ट्र्याक खोलेको यस सडकमा पुनर्निर्माण प्राधिकरणले आवश्यक स्थानमा पक्की पुलहरू निर्माण गरिसकेको छ । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाका अनुसार प्राविधिक प्रतिवेदनले यो सडक प्राविधिक रूपमा अत्यन्तै सम्भाव्य देखाएको छ । यसलाई प्रादेशिक सडकका रूपमा प्रदेश सरकारले अपनत्व लिएर स्तरोन्नति गर्नुपर्ने बताउनुभयो ।
प्रस्तावित मार्गको कुल लम्बाइ करिब ३० किलोमिटर रहेको छ, जसमध्ये ९ किलोमिटर खण्ड कालोपत्रे भइसकेको छ । आवश्यक तीनवटा पुलमध्ये दुईवटाको निर्माण सम्पन्न भइसकेको छ भने अब डाढोरे खोलाको पुल बन्न मात्र बाँकी छ । यो सडक हालको मार्गभन्दा करिब २ किलोमिटर लामो भए तापनि बढी स्थिर र कम जोखिमपूर्ण रहेको दाबी गरिएको छ । देउरालीको घुम्ती र त्यहाँ हुने ट्राफिक जामको अन्त्यका लागि यो सडक कोसेढुङ्गा साबित हुने अध्यक्ष लामाको भनाइ छ ।
करिब ५० करोड रुपैयाँ लगानी गरेमा यो सडक पूर्ण रूपमा व्यवस्थित हुने अनुमान गाउँपालिकाले गरेको छ । यसको निर्माणबाट भीमफेदीको माथिल्लो भेग तथा साविकका इपा र कोगटे गाविसका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्नेछ । विशेषगरी यहाँ उत्पादित कृषि उपजहरूलाई हेटौंडा र काठमाडौंका बजारसम्म पु¥याउन सहज पहुँच पुग्नेछ ।
“प्रदेश सरकारका मन्त्री र सम्बन्धित निकायका प्रमुखहरू यस सडकको विकासमा सकारात्मक हुनुहुन्छ,“ अध्यक्ष लामाले भन्नुभयो, “आगामी आर्थिक वर्षको बजेटमा यसलाई बहुवर्षीय खरिद प्रक्रियामार्फत निर्माणमा लैजानेमा हामी विश्वस्त छौं ।“ मन्त्रीको स्थलगत निरीक्षण र सकारात्मक प्रतिबद्धतापछि यो वैकल्पिक मार्ग निर्माणले आगामी आर्थिक वर्षदेखि नै गति लिनेमा स्थानीय बासिन्दा आशावादी देखिएका छन् ।












