हेटौंडा, ४ जेठ । हेटौंडा–४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टले शिक्षाशास्त्र संकायमा यो वर्ष पनि ३० जनालाई निःशुल्क अध्यापन गराउने भएको छ । सोमबार पत्रकार सम्मेलनमार्फत स्कुलले नेपाली, अंग्रेजी र गणित मूल विषयमा १०÷१० जनाका दरले कुल ३० जनालाई निशुल्क अध्यापन गराउने जनाएको हो ।

देशमा दक्ष तथा सीपयुक्त शिक्षकको अभाव देखिएपछि सामाजिक उत्तरदायित्व र गुणस्तरीय शिक्षाको आवश्यकता महसुस गर्दै म्यानेजमेन्टले नवोदय शिशु सदन र नवोदय इनोभेसन सेन्टरसँगको सहकार्यमा गत वर्ष देखि यो कार्यक्रम संचालन गर्दै आएको छ । उक्त कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले बताउनुभयो ।
हेटौंडा स्कुल अफ म्यानेजमेन्टकी शिक्षाशास्त्र संकायकी संयोजक रमिता दर्लामीका अनुसार नवोदय शिशु सदनलाई ल्याब स्कुलको रूपमा प्रयोग गरी विद्यार्थीहरूलाई शिक्षक तालिम, भाषा र प्रस्तुतीकरण जस्ता क्षमता विकासका क्रियाकलापमा सहभागी गराइँदै आएको छ । गत वर्ष यस कार्यक्रम अन्तर्गत अंग्रेजी र गणितमा ९÷९ जना तथा नेपालीमा ४ जना विद्यार्थी भर्ना भएर अध्यनरत रहेका छन् ।
पत्रकार सम्मेलनमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका योजना तथा विकास निर्देशक दिपेश जोशीले आजको समय अनुकूल नयाँ शैलीका शिक्षक तयार गर्न यो कार्यक्रम ल्याइएको बताउनुभयो । कार्यक्रम फलदायी रहेको पुष्टि गर्दै गत वर्ष भर्ना भएकी विद्यार्थी अक्शा कार्कीले पढाइ सुरु गरेको ३ महिनामै पूर्वप्राथमिक तहको कक्षा सम्हाल्न सक्ने आत्मविश्वास र सीप आर्जन गरेको अनुभव सुनाउनुभयो । विद्यालयले आगामी वर्षदेखि स्नातक तहमा पनि शिक्षाशास्त्र संकायमा निःशुल्क कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।











