चितवन– प्रधानमन्त्री केपी शर्मा ओली माघ १७ गते चितवन आउने हुनु भएको छ । भरतपुरको केन्द्रिय बस टर्मिनलमा हुने बृहत् जनसभालाई सम्बोधन गर्न ओली चितवन आउन लाग्नुभएको हो ।
आइतबार भरतपुरमा नेकपा संस्थापन पक्षद्वारा आयोजित पत्रकार सम्मेलन मार्फत जनसभाको बारेमा जानकारी दिइएको छ । सभामा चितवनका विभिन्न पालिकाहरूबाट ५० हजार जनता सहभागी गराउने लक्ष्य राखिएको छ । सभालाई सम्बोधन गर्नुअघि ओलीले भरतपुरमा बन्न लागेको सिटी हल र गोन्द्रङ–पुल्चोक सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । दिउसो १२ बजेबाट आमसभा सुरु हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सांसद दिलकुमारी रावल ‘पार्वती’ले पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री ओलीले आमसभामा सम्बोधन गर्ने बताउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले सङ्घीय मन्त्रालयको कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले सिटी हल र सडक विस्तारको शिलान्यास गर्न लागेको बताउनु भयो । सङ्घीय सरकारको बजेटमा सघन सहरी विकास आयोजना अन्तर्गत सिटी हल बन्न लागेको हो भने भौतिक योजना मन्त्रालय अन्तर्गत पुल्चोक–गोन्द्रङ सडक विस्तार हुन लागेको हो । रावलले केन्द्रिय सरकारबाट विनियोजन भएका आयोजनाको शिलान्यास प्रधानमन्त्रीले गर्नुलाई अन्यथा लिन आवश्यक नरहेको बताउनु भयो । तीन वटै सरकारसँग समन्वयन गरेर सरकार अघि बढी रहेको बताउँदै उहाँले यसलाई कसैको प्रतिष्ठाको विषय बनाउन आवश्यक नरहेको प्रष्ट पार्नु भयो ।