हेटौंडा । जेन-जीका नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेहरूको संख्या दर्जन नाघेको छ । प्रदर्शनकारीका नाममा उत्रिएको समूहले नयाँबानेश्वरस्थित संसद् भवन कब्जा गर्न खोजेपछि प्रतिकारमा उत्रिएका सुरक्षाकर्मीले गोली चलाउँदा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।
यसरी ज्यान गुमाउनेमा सबैभन्दा धेरै राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएकाहरू रहेका छन् । ट्रमा सेन्टरमा मात्रै उपचारका लागि लगिएकामध्ये ६ जनाले ज्यान गुमाएका छन् । ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट बद्री रिजालले दिएको जानकारी अनुसार उपचारका लागि ल्याइएका ५० जना घाइतेमध्ये ६ जनाले ज्यान गुमाएका हुन् ।
रिजालका अनुसार अहिले त्यहाँ तीनजनाको आईसीयुमा उपचार भइरहेको छ। दुईजनाको ओटीमा अपरेशन भइरहेको छ। रिजालका अनुसार अझै घाइते ल्याउने क्रममा जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने सम्भावना छ ।
अहिलेसम्म सबैभन्दा धेरै ट्रमा सेन्टरमा ६ जनाले ज्यान गुमाउँदा निजामती अस्पतालमा ३ जनाको मृत्यु भएको छ। सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा एकजना, त्रिवि शिक्षण अस्पतालमा एकजना र बानेश्वरस्थित एभरेस्ट अस्पतालमा पनि एकजनाले ज्यान गुमाएका हुन् । संसद् भवन क्षेत्रमा भएको हिंस्रक झडपका क्रममा घाइते भएकाहरूलाई अहिले विभिन्न अस्पतालमा लाने क्रम जारी छ।केहीलाई अस्पताल पुर्‍याउँदै ज्यान गइसकेको थियो ।