काठमाडौँ– कोरोना भाइरस विरुद्धको खोप यही १४ गते बुधवारबाट लगाउन सुरु गरिने भएको छ । स्वास्थ्य मन्त्रालयको आजको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदेयस त्रिपाठीले १४ गते १० बजेदेखि देशका सातै प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप लगाइने कार्य सुरु गरिने जानकारी दिनुभयो ।
मन्त्री त्रिपाठीले खोप अभियान अन्तर्गत मुख्य प्राथमिकतामा परेका लक्षित समूहका व्यक्तिहरूलाई पहिलो चरणमा खोप लगाइने बताउनुभयो । पहिलो चरणमा देश भरीका ३ सय खोप केन्द्रबाट करिब ४ लाख ३० हजार जनालाई खोप लगाइने लक्ष्य रहेको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । सरकारले कोरोना विरुद्धको खोप अभियानको पहिलो चरणमा भारतबाट सहयोग स्वरूप प्राप्त १० लाख डोज खोप लगाउन सुरु गर्ने भएको हो । नेपालमा हालसम्म ९८ प्रतिशत कोरोना संक्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट आज थप ४ सय ३ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै आज देशभर ४ हजार ४ सय १३ वटा पीसीआर परीक्षण गर्दा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कूल सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ । कोरोना सङ्क्रमणका कारण आज थप ७ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या २ हजार १ पुगेको छ । हाल देशभर रहेका ३ हजार ३ सय १२ सक्रिय संक्रमित मध्ये १ सय ३९ जनाको आइसियु र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।