मकवानपुर– मकवानपुरमा २०७२ सालको भुकम्पका कारण क्षती भएका स्वास्थ्य संस्था मध्ये आईतबार पहिलो स्वास्थ्य संस्थाको भवन पुनर्निमाण गरेर हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) अन्तर्गत जिल्लाको बागमती गाउँपालिका–९, बेतिनीमा निर्माणसम्पन्न स्वास्थ्य चौकी भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

आज एक कार्यक्रमका बीच जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरका प्रमुख तुलसीराम खरबुजाले गाउँपालिकाका अध्यक्ष सर्केश घलानलाई स्वास्थ्य चौकी भवन हस्तान्तरण गर्नुभएको हो । ठेक्का प्रक्रिया मार्फत एक करोड ३० लाख रुपैयाँमा लागतमा निर्माण भएको २ तलाको स्वास्थ्य चौकी भवन आज हस्तान्तरण गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का इन्जिनियर रविन पाठकले जानकारी दिनुभएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत मकवानपुर जिल्लामा पहिलो चरणमा निर्माण सुरु गरिएको ५ वटा स्वास्थ्य चौकी भवन मध्ये आज पहिलो भवन हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा पहिलो चरणका ५ वटा सहित भवन कार्यालय मार्फत ९ वटा भुकम्प प्रभावित स्वास्थ्य चौकीका भवनहरू निर्माण भईरहेका छन् । सो मध्ये आज पहिलो भवन हस्तान्तरण भएको र अन्य भवनहरु आगामी जेष्ठ महिना सम्ममा निर्माण सम्पन्न गर्ने गरि काम भईरहेको ईन्जिनियर पाठकले बताउनुभयो । जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत निर्माण हुने जिल्लाका ९ वटा भुकम्प प्रभावित स्वास्थ्य चौकी भवनको कुल लागत २२ करोड ६० लाख रुपैयाँ रहेको उहाँले बताउनुभयो ।