मकवानपुर – पाँचौ संस्करणको ‘सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९’ मकवानपुर गोल्डकपको उपाधि मनाङ मस्र्याङदी क्लबले जितेको छ । बुधबार हेटौंडा–५, स्थित क्याम्पारंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मनाङले उपाधि हात पारेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा मनाङका लागि दोस्रो हाफको ३३औँ मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । उपाधिसँगै मनाङले नगद १५ लाख प्राप्त गरेको छ भने उपविजेता हिमालयन शेर्पाले नगद १० लाखसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा मनाङका कप्तान तथा गोलकिपर दीप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको बुलेट मोटरसाइकल हात पारेका छन् । यस्तै उत्कृष्ट गोलरकिपर पनि मनाङका दीप कार्की, उत्कृष्ट डिफेन्डर हिमालयन शेर्पाका अमित श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर मनाङका कमल थापा, उत्कृष्ट फरवार्ड शेर्पाका योउमी र उत्कृष्ट प्रशिक्षक मनाङका किरन श्रेष्ठ घोषित भए । उनीहरुले जनही २५–२५ हजार प्राप्त गरेका छन ।












