जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभाबाट विभिन्न १० वटा प्रस्ताव पारित गरेको छ । आइतबार बसेको जिल्ला सभाले जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम परिमार्जनसहित पारित गरेको हो । त्यस्तै जिल्ला समन्वय समितिको २०७५ असोज १७ गते देखि २०७६ साउन ५ गतेसम्म बसेको जिसस बोर्ड बैठकका निर्णय, जिल्ला समन्वय समितिको आय–व्यय पारित गरेको छ । साथै जिल्ला सभाबाट ३ वर्ष भित्र बालमैत्री स्थानीय तह बनाउने निर्णय पारित गरेको छ ।

३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा र प्रदेशको नाम शिघ्र टुंगो लगाउन ३ नम्बर प्रदेश सभालाई आग्रह गर्ने निर्णय पारित गरेको छ । कर्मचारी समायोजन ऐनले स्थानीय तहको परिभाषामा जिल्ला समन्वय समितिलाई नसमेटेकोप्रति असहमति व्यक्त गर्ने, स्थानीय तहमा आवश्यक जनशक्ति यथाशिघ्र व्यवस्थापन गर्न संघीय सरकारलाई आग्रह गर्ने, जिसस सदस्यको मर्यादाक्रम तोक्न संघीय सरकारलाई आग्रह गर्ने, जिससलाई संविधान प्रदत्त अधिकारको कार्यलाई प्रभावकारिताका साथ कार्यान्वयनका लागि आवश्यक ऐन कानुन कार्यविधिको तर्जुमा गर्न प्रदेश तथा संघीय सरकारलाई आग्रह गर्ने निर्णय पारित गरेको छ ।

बैठकले स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीको क्षमता क्षमता अभिबृद्धिका लागि विशेष कार्यक्रम ल्याउन प्रदेश तथा संघीय सरकारलाई आग्रह गर्ने, स्थानीय तहमा प्रशासकीय भवन निर्माणका लागि आवश्यक स्रोत, साधन तथा जग्गा उपलब्ध गराउन संघ तथा प्रदेश सरकारसमक्ष आग्रह गर्ने, ऐलानी जग्गाको लालपुर्जा प्रदान गर्न नापीको व्यवस्था गर्न अनुरोध गर्ने, जिल्ला भित्रकै तथा अन्तरप्रादेशिक रुपमा रहेको स्थानीय तहको सीमा विवाद समाधानका लागि संघीय र प्रदेश सरकारलाई आग्रह गर्ने र सामाजिक सुधार ऐनलाई प्रभावकारी कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।