सशस्त्र प्रहरी कर्मचारीले अब सरुवा भएर अन्यत्र जाँदा गुन्टा बोकेर जानु नपर्ने भएको छ । सशस्त्र प्रहरी बल नेपालले ‘एक जवान एक बेडिङ’ अवधारणाअनुसार आवश्यक व्यवस्थापन गरेकाले अब आफ्नो व्यक्तिगत सामानमात्रै बोकेर गए हुने भएको जनाइएको छ ।
यसअघि सशस्त्र प्रहरी सरुवा भएर जाँदा आफ्नो विस्ताराका लागि प्रयोग हुने सरसामानसमेत बोकेर हिँड्नुपर्ने बाध्यता रहेको थियो । ‘अब त्यो बाध्यता हटेको छ, त्यसरी गुन्टा बोकेर जानुपर्ने अवस्था अन्त्य गरिएको छ’, सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले भन्नुभयो, ‘सशस्त्र प्रहरीका धेरै गतिविधिमा सुधार गर्दै लगिएको छ ।’
उहाँका अनुसार एक जवान एक बेडिङको अवधारणाअनुसार ८५ प्रतिशत कर्मचारीका लागि शय्या तयार भइसकेको छ । बाँकीका लागि पनि तयारीको अवस्थामा राखिएको छ ।
प्रवक्ता खड्काका अनुसार सशस्त्र प्रहरीका विभिन्न ७० युनिटमा शिशु स्याहार केन्द्रसमेत स्थापना गरिएको र त्यहाँ एक सशस्त्र कर्मचारीले रेखदेख गर्ने तथा अरू भने कार्यक्षेत्रमा खटिने गरी व्यवस्था गरिएको छ ।
यस्तै आधारभूत आवश्यकतालाई ध्यानमा राखेर विशेष सुधारका काम पनि गरिएको उहाँले बताउनुभयो । प्रवक्ता खड्काका अनुसार विभिन्न ६५ वटा मेसको स्तरोन्नति गरिएको छ ।
जनशक्तिको अनुपातमा शौचालय तथा स्नान गृहको निर्माण पनि गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । इन्डक्शन चुल्होको प्रयोग बढाउँदै लगिएको र अन्य सुधारात्मक कामलाई तीव्र गति दिइएको जनाइएको छ ।