मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सामुदायिक तथा कबुलियती वनको व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । डिभिजन वन कार्यालय हेटौंडाद्धारा बुधबार हेटौंडामा आयोजित कार्यक्रममा प्रमुख खुलालले सामुदायिक तथा कबुलियती वनमा लामो समय देखि समन्व्य र सहजिकरणको अभावमा वन व्यवस्थापनमा कमजोरी देखिएको भन्दै समन्वय र सहजिकरण गर्न सुझाव दिनुभयो ।

प्रमुख खुलालले स्थानीय तहसंगको सहकार्यमा वन क्षेत्रको स्रोत व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो– “ हामी महंगोमा विदेशि काठ किन्न बाध्य छौं, तर नेपालमा उत्पादित काठ कुहिएर गएको अवस्था छ, त्यसको व्यवस्थापन जरुरी छ ।” वनको संरक्षण, व्यवस्थापन र प्रतिफल लिने गरि आवश्यक नीति र नियम नबनुनजेल सम्म समन्वयमा काम गर्न समेत उहाँले आग्रह गर्नुभयो । ऐन नियममा प्रष्ट व्यवस्था नभएसम्म अहिलेको संक्रमणकालिन अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट समन्वय र सहजिकरणकै माध्यमबाट अगाडी बढ्नुपर्ने उहाँको भनाई थियो । वनलाई कृषि र पशुपालनसंग जोडेर आयआर्जन तर्फ लाग्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले कुलियती वनको अस्थित्व के छ भनेर खोज्न जरुरी रहेको बताउनुभयो । उहाँले वन क्षेत्रको सुधार गर्दै आय आर्जनमा जोड दिनुपर्ने तर २० वर्ष अगाडी निर्माण भएको संरचनाको अस्थित्व कहाँ कुन अवस्थामा छ खोज्न जरुरी रहेको बताउनुभयो । अध्यक्ष लामाले वनको संरचना स्थानिय तह सम्म आवश्यक रहेको समेत बताउनुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालय हेटौंडाको कार्यक्षेत्र रहेको मकवानपुरको हेटौंडा उपमहानगरपालिका, भीमफेदी, मकवानपुरगढी, मनहरी, बागमती र बकैया गाउँपालिकाका सव डिभिजन वन कार्यालयका कर्मचारीहरु, स्थानिय तहका कृषि, पशु, तथा महिला शाखाको कर्मचारीहरुको सहभागिता रहेको थियो ।