मकवानपुर– मकवानपुरमा जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्ती वृक्षारोपण कार्यक्रम गरेर मनाईएको छ । नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आज मकवानपुरको हेटौंडा–९ स्थित मदन बाल उद्यानमा वृक्षा रोपण गरिएको हो ।

मदन भण्डारी फाउण्डेशन मकवानपुरका अध्यक्ष एवम् जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । मदन भण्डारीको जन्मजयन्ती एवम् राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले बालउद्यानमा क्रिसमस ट्री रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो क्रममा मुख्यमनत्री पौडेलले गणतन्त्र प्राप्तीका लागि मदन भण्डारीले खेलेको भुमिका र अहिलेको बदलीदो परिस्थितीलाई सम्झनुभएको थियो । उहाँले जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलिय जनवादको सिद्धान्तमा नै अहिलेको उपलब्धी हासिल गर्न सकिएको बताउनुभयो । बृक्षा रोपण गर्दै मुख्यमनत्री पौडेलले रोपिएका विरुवाको संरक्षण गर्न समेत आग्रह गर्नुभयो ।

जननेता मदन भण्डारीको जन्म २००९ साल असार १४ गते पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । बहुदलीय जनवादका ब्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय गाडी दुर्घटनामा मृत्यु भएको थियो । उनीसँगै गाडिमा सवार तत्कालीन एमालेको संगठन विभाग प्रमुख जीवराज आश्रितको शव गाडीमै भेटिएको थियो भने भण्डारीको शव घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिनपछि भेटिएको थियो । मदन भण्डारी जीवित छँदा जति चर्चामा थिए मृत्युपछि पनि उत्तिकै चर्चामा छन् ।

सो अवसरमा फाउण्डेसनका अध्यक्ष खुलालले जनताको बहुदलिय जनवाद सिद्धान्तको आलोकमा नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने महान चिन्तक, विचारक, संगठक एवम् जनताको लोकप्रिय नेता मदन भण्डारी र उहाँको योगदानलाई उहाँले स्मरण गर्नु भयो । उहाँले दशकौं लामो द्धन्द्ध र अस्थिरता समाप्त भई देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापित भएर राजनीतिक स्थिरताको सुनिश्चिता हुनुमा जननेता मदन भण्डारीको विचारको देन भएको भन्दै उहाँको मार्गदर्शन अनुसार नै कम्युनिष्ट सरकार संचालन भएको तथा सुखि नेपाली समृद्ध नेपाल निर्माणको यात्रामा अग्रसर भएर लागेको बताउनुभयो ।

डिभिजन वन कार्यालय हेटौंडाको सहयोगमा बालउद्यानमा गोलमोहर, क्रिसमस ट्री, रुद्राक्ष, कल्की, धुपी, पाम, राजबृक्षलगायतका एक हजार विरुवा रोपिएको छ । बृक्षारोपण कार्यक्रममा फाउण्डेसनका प्रदेश सदस्य जुनेली श्रेष्ठ, एकलाल श्रेष्ठ, फाउण्डेसनका सदस्यहरुलगायत पार्टी कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।