हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाले बगर खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । नदी, खोला किनाराको उकास खेर गएकाे जग्गामा बगरमा खेती गर्ने किसानलाई गाउँपालिकाले अनुदान दिइने भएको हो ।
आर्थिक वर्ष २०८०-८१ को स्वीकृत कार्यक्रम अनुसार बगरमा खेती गर्ने किसानलाई अनुदान दिने भएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताउनुभयाे । पालिकाले प्रति क्लस्टर (५ विघा क्षेत्रफल) मा एक लाख ७५ हजार अनुदान रकम उपलब्ध गराउने भएको छ । कृषि व्यवसायमा संलग्न भई खेती गर्न इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी संस्था, फार्ममार्फत् एक साताभित्र दरखास्त आव्हान गरिएको छ ।
अनुदान वितरण प्रक्रिया प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८० अनुसार गरिने बकैया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले बताउनुभयो ।
आयआर्जनमा विकास गर्ने लक्ष्य सहित बगर खेतीलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले बताउनुभयो । “हेटौँडा बजारबाट गाउँमा आउने दैनिक उपभोग्य सामाग्री न्यूनीकरण गर्दै जान्छौं, अब बिस्तारै गाउँबाट सहरमा तरकारी पठाउँने लक्ष्यका साथ काम गरेका छौं,” गाउँपालिका उपाध्यक्ष खत्रीले भन्नुभयो ।
हिउँदमा खेर गईरहेको बगरको जग्गामा तरबुजा, काँक्रो, लौका र फलफुलका बिरुवा लगाउन सकिने बकैया गाउँपालिका आर्थिक विकास शाखा प्रमुख अशोक कुमार सिंहले बताउनुभयो । “बगरको जग्गा उपयोग पनि गर्न सकियो, त्यहाँबाट उत्पादन भएको तरकारी फलफूलमार्फत् किसानलाई आयआर्जन पनि हुनेभयो,” आर्थिक विकास शाखा प्रमुख सिंहले भन्नुभयो । १२ वटा वडा रहेको बकैयामा अनुमानित १५ प्रतिशत जग्गा नदी उकास रहेको छ ।