निर्माणाधिन मदन बाल उद्यानमा सरसफाइको काम गर्दै ।

मकवानपुर– मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा “श्रममा आधारीत राहत” कार्यक्रम सुरु गरेको छ । जारी लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भएका श्रमिक, मजदुरलाई वडाको विकास निर्माणको काममा लगाएर राहत वितरण सुरु गरिएको हो ।
वडा भित्रका नागरिकहरुलाई वडाकै विकास निर्माणको काममा श्रम गरे वापत राहत प्रदान गरिने वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो । स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गर्दै काम गरे वापत १५ किलो चामल, दाललगायतका राहत प्रदान गरिएको उहाँले बताउनुभयो । वडा कार्यालयको व्यवस्थापनमा टोल विकास संस्था वडा समन्वय समतिको सहजीकरणमा वेतखोल्सी वन उपभोक्ता समितिको सहकार्यमा वडामा रहेको मदन बाल उद्यानमा झाडी फडानीबाट कामको सुरुवात गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

श्रमिकहरूलाइ मास्क वितरण गर्नुहुँदै वडा अध्यक्ष ।

वडाले उपमहानगरपालिका र एकद्धार प्रणाली अन्तर्गत विभिन्न संघसंस्थाबाट आएको राहत पहिले दुई चरणमा वितरण गरिसकेको र बाँकी रहेको राहतवाट वडाको विकास निर्माणको काममा लगाएर वितरण गर्न लागेको हो । पहिलो चरणमा वडामा रहेको २४ वटै टोल विकास संस्थाबाट ४ जनाका दरले करीब एकसय जनालाई राहत वितरण गर्ने योजना बनाएको छ । काम गर्न आउने स्थानियहरुलाई सुरक्षित रहेर काम गर्न सुझाव दिनुका साथै वडा कार्यालयले मास्कको समेत व्यवस्था गरेको छ ।
प्रत्येक टोल विकास संस्थाबाट ४ जनाका दरले काम प्रदान गर्ने निर्णय अनुसार शनिबारबाट काम प्रदान गरिएको टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यदुवंश खतिवडाले बताउनुभयो । सामाजिक दुरी कायम गरी शनिबार १२ जना र आइतबार १७ जना स्थानियले काम गरेर राहत प्याकेज प्राप्त गरेको उहाँले बताउनुभयो ।