मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा ४० प्रतिशत बढी बजेट खर्च गरेको छ । पालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको चैत्र १३ गतेसम्ममा ४० दशमलव १५ प्रतिशत खर्च गरेको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को लागि ७० करोड ७४ लाख ६३ हजार ७७० रुपैयाँ बराबरको बजेट विनियोजन गरेकोमा गएको साउनदेखि चैत्र १३ गतेसम्म २८ करोड ४० लाख ८३ हजार १९२ रुपैयाँ खर्च गरेको छ । पालिकासँग अब ४२ करोड ३३ लाख ८० हजार ५७७ रुपैयाँ बजेट मौज्दात रहेको जनाएको छ ।

गाउँपालिकाले यस अवधिमा सबैभन्दा बढी बिज्ञान तथा प्रविधि क्षेत्रमा एक सय प्रतिशत, १० वटा क्षेत्रमा ३० प्रतिशतभन्दा बढी र ७ वटा क्षेत्रमा शुन्य बजेट खर्च गरेको छ । गाउँपालिकाले तथ्याङ्क प्रणाली तर्फ ८६.८३, शिक्षा तर्फ ५६.९४, सामाजिक विकास तर्फ ५०.८, स्वास्थ्य तर्फ ४४.३६, अनुगमन तथा मूल्याङ्कन तर्फ ४०.६८, कार्यालय सञ्चालन र कार्यान्वयन तर्फ ३८.९३, पर्यटन तर्फ ३३.४६, युवा तथा खेलकुद तर्फ ३१.९१, यातायात पूर्वाधार तर्फ ३०.९९ र पूर्वाधार विकास तर्फ ३०.२६ खर्च गरेको जनाएको छ ।

गाउँपालिकाले यस अवधिमा सहकारी क्षेत्र, वित्तीय क्षेत्र, संचार तथा सूचना प्रविधि, वातावरण तथा जलवायु, विपद व्यवस्थापन, शासन प्रणाली र श्रम तथा रोजगारको क्षेत्रमा शुन्य बजेट खर्च गरेको छ । यस्तै उद्योग, योजना तर्जुमा र कार्यान्वयन, प्रशासकीय सुशासनको क्षेत्रमा ५ प्रतिशत भन्दा कम बजेट खर्च गरेको जनाएको छ ।

आन्तरिक स्रोत ८८ प्रतिशत

गाउँपालिकाले यसै अवधिमा आन्तरिक स्रोत तर्फ लक्ष्यको ८८ प्रतिशत संकलन गर्न सफल भएको छ । गाउँपालिकाले आन्तरिक तर्फ ९ करोड ८९ लाख ८१ हजार ४७० आम्दानी हुने अनुमान गरेमा हालसम्म ८८.८४ प्रतिशत अर्थात ८ करोड ७९ लाख ३२ हजार ७८५ रुपैयाँ संकलन गरेको छ । गाउँपालिकाले हालसम्म समग्रमा भने, ६४.४७ प्रतिशत आम्दानी गर्न सफल भएको जनाएको छ ।

बैशाखसम्म सबै योजना सम्पन्न गर्ने लक्ष्य

मकवानपुरगढी गाउँपालिकाले चालु आर्थिक वर्षको योजनाहरु भने बैशाख भित्रमा सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ । गाउँपालिकाकाे कुल २१७ वटा योजना मध्ये हालसम्म ८० प्रतिशत अर्थात १६८ वटा सम्झौता गरिसकेको र ६३ वटा सम्पन्न भई भुत्तानीसमेत भईसकेको गाउँपालिकाका राजश्व, योजना तथा अनुगमन शाखा प्रमुख प्रकाश न्यौपानेले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कीका अनुसार बैशाख महिनाभित्र सबै योजना सम्पन्न गर्ने र आगामी वर्षको बजेट निर्माणमा लाग्ने गरि काम भईरहेको छ ।