हेटौंडा– हेटौंडाका एक कोरोना संक्रमित परिवारको विषयमा अनर्गल प्रचार गर्दै भिडियो बनाई युटुबमा पोष्ट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कोरोना संक्रमित परिवारको नामजोडेर अफवाह फैलाएकाे भन्दै वडा प्रहरी कार्यालय हेटौँडाले निजगढ नगरपालिका– १२ रतनपुर नीवासी नितेशराज रिजाललाइ पक्राउ गरेकाे हाे ।
संविधानसभा सांसद अनन्त पौडेलको श्रीमतीलाई कोरोना भाइरस भएको पुष्टि भएपछि अडियो र भिडियो बनाएर सामाजिक सञ्जालमा पाेष्ट गरेका थिए । भिडियोमा पौडेलको परिवारलाई चोट पुग्ने तथा आवद्ध पार्टी माथि समेत विभिन्न लान्छना लगाइएको थियो । हेटौँडामा बसेर कक्षा १२ मा अध्ययन गरिरहेको उनले आफुले उक्त भिडियो पोष्ट गरको स्विकार गरेको वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक इश्वरी भण्डारीले जानकारी दिनुभएकाे छ ।
फेसबुकमा आएको भ्वाईस क्लिपको आधारमा आफुले उक्त भिडियो बनाएको उनले बताएको प्रहरीको भनाई छ । उनलाई कारबाहीका लागि थप अनुसन्धान भइरहेको निरीक्षक भण्डारीले जानकारी दिनुभयाे । अडियो बनाउनेको पनि खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । संक्रमित र उनको परिवारलाई झन पिडा पुग्ने गरी सामाजिक सञ्जालमा अडियो र भिडियो आएपछि कारबाही गर्न व्यापक दबाब आएको थियो ।