मकवानपुर– मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले राहतको पोकोसंगै कोरोना आउन सक्ने हुनाले होसियार बन्न पालिकावासीलाई आग्रह गर्नुभएको छ । आज सामाजिक संजाल मार्फत अध्यक्ष मोक्तानले बाहिरबाट राहत बाड्न आउनेलाई नै कोरोना संक्रमण भएको हुन सक्ने र भाइरस सर्न सक्ने हुनाले होसियार हुन सम्पुण पालिकावासीलाई आग्रह गर्नुभएको हो ।
अध्यक्ष मोक्तानले लकडाउनको अवधिमा खाना नपाई कसैलाई मर्न नदिने सरकारले योजना बनाइसकेकाले स्थानिय जनतालाई ढुक्क रहन समेत आग्रह गर्नुभएको छ । “कसको घरमा चुलो बल्न बन्द हुन लाग्यो भने छातीमा हात राखेर नढाँटीकन स्थानीय सरकारलाई खबर दिई सहयोग गर्नुहोला हामी स्थानीय सरकारका प्रतिनिधि त्यहाँ पुग्ने छौ” । अध्यक्ष मोक्तानले लेख्नुभएको छ । अध्यक्ष मोक्तानले गाउँघरमा थुप्रै रैथाने चिजबिजहरु खाएर समेत बाँच्न सकिने भन्दै पोका बाँडेर आफूलाई भगवान् बनाउन खोज्नेको राहत अस्वीकार गर्न अनुरोध गर्नुभएको छ ।
“गाउँमा खोले, सिस्नु, गिठ्ठा, भ्याकुर, कर्कलो, निउरो, टाकीको साग, कोइरालाको फूल, सिफ्लिगान, केराको बुङ्गो, वनतरुल, पिडालु, सिमलतरुल, पुतलीतरुल, चुइया र यस्तै अन्य नानाथरि प्रकृतिले उपलब्ध गराएको मौसमी चिजबिज खाएर बाँचिरहेका हामी नेपालीलाई वन मान्छे देख्ने र दयाको पात्र सम्झने आफूले आफूलाई भगवान् देखाउन सेतो चामलको बोरा बाँड्न आउनेहरु माथि नै मनोदशारुपी कोरोना भाइरसको भयानाक आक्रमण देखियो । मानवीयताको हिसाबले सहयोग गर्ने यतिखेर नै हो, हामी–हामी बीचमै सहयोग आदनप्रदान गर्न सकिन्छ, जे छ बाँडेर खाना सकिन्छ । यो सङ्कटको बेलामा वल्लो पल्लो घरबाट अँैचोपैँचो चलाउँ, जिउँदाको जन्ती मर्दाको मलामी तपाईं हामी नै हौँ ।” मोक्तानले भन्नुभएको छ ।
अध्यक्ष मोक्तानले नोबेल कोराना भाइरस बिरुद्धको महायुद्धमा सेतो वस्त्रधारी सेना (चिकित्सक) सिंगो मानव समाज जोगाउन लडिरहेको भन्दै आफ्नो ठाँउबाट सकेसम्मको सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले लकडाउनको अवधिमा तोकिएको शर्तहरु पालना गरिदिन र यो विषम परिस्थितिमा कोही पनि नआत्तिन र नमात्तिन अनुरोध समेत गर्नुभएको छ ।