काठमाडौं । ०७६ वैशाखयताका विभिन्न विपद्का घटनामा परी २७१ ले ज्यान गुमाएका छन् भने ६४६ घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार, बाढी–पहिरोलगायतका विभिन्न विपद्का घटनामा परी २०७६ वैशाख १ देखि भदौ २९ सम्म २७१ ले ज्यान गुमाएका हुन् ।
त्यस्तै, ६४६ जना घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित भएका छन् । सरकारी तथ्यांक अनुसार, विभिन्न घटनामा १ हजार ६३ चौपाया मरेका छन् । ४ हजार ६०७ घर डुबानमा परेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता उमेशराज जोशीले विपद्का घटनाको उद्धारका लागि पाँच महिनामा १६ हजार प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिनुभएको छ ।
५ महिनानाको अवधिमा १५ पुलमा क्षति, एक हजार ७६१ घर, २१७ गोठ र ७४ सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट रु दुई अर्ब ४२ करोड ५५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सहप्रवक्ता जोशीले यस वर्ष अचानक विपदमा परेका सबै व्यक्तिको सफल उद्धार गरिएको जानकारी दिनुभयो । नेपाल प्रहरीले ०६८ मा विपद् व्यवस्थापन महाशाखा स्थापना गरी हाल देशभरका सातै प्रदेशमा शाखा स्थापना गरी उद्धार गर्दै आइरहेको छ ।